भैँसी, राँगापालन व्यवसाय
रामेश्वर सिंह पाण्डे, कृषिपत्रिका (Posted
on 2013 July 8 on Facebook/कृषि पत्रिका)
भैँसीको महत्वः पालतु पशुहरू मध्ये भैँसी नै सबैभन्दा बहुपयोगी पशु हो । यो दूध, मासु तथा कृषिकार्यका निमित्त पाल्ने गरिन्छ । जङ्गली भैँसीलाई अर्ना भनिन्छ । अर्ना जातका भैँसीहरू नेपालको कोसी टप्पुमा आरक्षित छन् । घरपालुवा भैँसीहरू दुई थरिका हुन्छन्ः क) वाटर वफ्यालो वा रिभर वप्mयालो, र ख) स्वाम्प वप्mयालो । नेपाल, भारत, पाकिस्तान क्षेत्रमा पालिने भैँसीलाई वाटर वप्mयालो भनिन्छ । दक्षिण पूर्व एसियाको देशहरू थाइल्यान्ड, फिलिपिन्स, मलेसियामा पाइने भैँसीलाई स्वाम्प बफेलो भनिन्छ ।
नेपालमा भैँसीको तथ्याङ्क तथा उत्पादनः नेपालमा भैँसी विशेषगरी दूध र मासुको लागि पालिन्छ । भैँसीको दूधमा बढी फ्याट हुने भएकोले यसको दूध नेपालमा बेसी रूचाइन्छ । विश्वमा करिब १२ करोड ५० लाख भैँसी भएको अनुमान छ । यसमध्ये ३ प्रतिशत भैँसीहरू नेपालमा पालिन्छन् । नेपालमा हाल ४९ लाख ९३ हजार भैँसीहरू भएको अनुमान छ । नेपालको मध्य पहाडी क्षेत्रमा सबैभन्दा बढी भैँसी पालिएका छन् । नेपालमा पालतु भैँसीहरूको कुल सङ्ख्याको २५ प्रतिशत भैँसीहरू दुहनी अवस्थामा रहेको अनुमान छ ।
नेपालमा भैँसीबाट हुने उत्पादनः नेपालमा भैँसीले दूध तथा मासु उत्पादनमा महत्वपूर्ण स्थान ओगटेको छ । नेपालमा वर्षेनी उत्पादन हुने कुल दूध १५ लाख ५६ हजार मे.टन मध्ये भैँसीबाट मात्र ११ लाख ९ हजार मे.टन दूध प्राप्त हुने गर्दछ । त्यस्तै नेपालमा उत्पादन हुने कुल मासु २लाख ७७ हजार मे.टन मध्ये १ लाख ६७ हजार मे.टन मासु भैंँसीबाट प्राप्त हुन्छ ।
नेपाली मूलका भैँसीहरूः नेपालमा छ्यासमिसे जातका भैँसीहरू पाइन्छन् । नेपालमा पालिने भैँसीलाई स्थानीय रूपमा पारकोटे, लिमे, लाहुरी, गुजराती, आदि नामले पुकारिन्छ । नेपालको तराई क्षेत्र तथा मध्य पहाडी क्षेत्रमा पालिने भैँसीहरूसँग भारतेली मूलको भैँसीहरूको कालान्तरदेखि अनियन्त्रीत क्रस हुँदै आएकोले भारतीय जातका भैँसीहरूको केही अंश यिनीहरूमा पाइने गर्दछ । नेपाली मूलका भैँसीहरू सानो जीउ डालको, थोरै दूध उत्पादन क्षमता भएको र प्रतिकूल अवस्थामा पनि हुर्कन, बढ्न सक्ने तथा थोर बहुत उत्पादन दिने खालका हुन्छन् । यिनीहरूको दूध उत्पादन क्षमता प्रतिवर्ष ९०० लिटर पाइएको छ । सरदर यिनीहरू ४० महिनाको उमेरमा वयस्क हुन्छन् । दुई बेतको अन्तर यिनीहरूमा केही लामो (५७५ दिन) हुन्छ । भैँसीहरूको आयु करिब २० वर्षको हुन्छ । आफ्नो जीवनकालमा यिनीहरूले १०–१२ पटक बच्चा ब्याउँछन् ।
भारतेली तथा पाकिस्तानेली मूलका भैँसीहरूः यस जातका भैँसीहरू दूध उत्पादनको लागि विश्वप्रसिद्ध रहेका छन् । यिनीहरूको दूधमा फ्याटको मात्रा बढी पाइने भएकोले यस क्षेत्रमा भैँसीको दूध खुबै रूचाइन्छ । यिनीहरू सालाखाला साढे तीन वर्षको उमेरमा वयस्क भई राँगो खोज्दछन् । एक बेतमा यिनीहरूले सरदर २००० लिटर दूध दिन्छन् । यिनीहरूमा एक बेत करिब २८० दिनको हुन्छ । दुई बेतको अन्तराल करिब ४२० दिनको हुन्छ । मुर्राः भारतको हरियाणा, पन्जाव, क्षेत्रमा पाइने यो दूध उत्पादनको लागि विश्वको असल जातको भैँसी हो । नेपालमा भैँसी विकासको क्रममा सर्वप्रथम सन् १९६७ मा भारतबाट ४० वटा मुर्रा जातको भैँसी झिकाइएका थियो । नेपालको तराई तथा मध्य पहाड क्षेत्रमा यस जातका भैँसी निकै लोकप्रिय भइरहेका छन् । ठूलो आकार प्रकार, केही सानो टाउको, सानो घुँगरिएको सिङ, भुइँसम्म लत्रिएको पुच्छर, पुच्छरको गुच्छाका केही भाग सेतो रङ्ग भएको यस जातका विशेषता हुन् । वयस्क राँगोको शारीरिक तौल ६०० किलो र वयस्क भैँसीको शारीरिक तौल ४५० किलोको हुन्छ ।
एक बेतमा सरदर २००० किलो दूध दिन्छन् । दूधमा ७.५ प्रतिशत प्mयाट पाइन्छ । यिनीहरू तीन साढे तीन वर्षको उमेरमा पहिलो पटक ब्याउंँछन् र ब्याउँदा प्रायः भदौदेखि कात्तिकसम्ममा ब्याउने गरेको पाइएको छ । एक बच्चा ब्याइसकेपछि अर्काे बच्चा ब्याउने अन्तराल करिब १७ महिनाको हुन्छ । एक बेतमा करीब ३०० दिन दूध दिन्छन् । यस जातको भैँसीले एकदिनमा ३–६ लिटरसम्म दूध दिएका छन् । पोखरा तथा जिरी पशु विकास फार्ममा लिइएको रेकर्ड अनुसार मुर्रा भैँसीले एक बेतमा ११००– १८०० किलोसम्म दूध दिएको छ । पहाडी हावापानीमा यिनीहरूको एक बेत २५९–४०७ दिनको पाइएको छ । सालाखाला ५५–६३ महिनाको उमेरमा पहिलो पटक ब्याएर अर्काे बच्चा ४३३–५९४ दिन पछि ब्याउने रेकर्ड गरिएको छ । हाल नेपालमा दूध उत्पादन बढाउन र कृषकहरूको आर्थिकस्तर उठाउन मुर्रा भैँसीपालनमा विशेष प्राथमिकता तथा स्थानीय जातका भैँसीको नश्ल सुधार गर्न मुर्रा राँगो तथा कृत्रिम गर्भाधानको लागि वीर्य वितरण गर्ने गरेको छ ।
No comments:
Post a Comment